काठमाडौँ : सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद वेदाश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट महायज्ञ सप्ताह सुरु भएको छ ।
हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीकण्ठ मन्दिर व्यवस्थापन समितिले मङ्गलबारदेखि मङ्सिर ११ गतेसम्म सप्ताह महायज्ञ सुरु गरेको हो । बुढानीलकण्ठ मन्दिरमा दशनामी मठका संरक्षक १००८ स्वामी निगमानन्द गिरी महाराजको सङ्कल्प तथा १०८ स्वामी पुरुषोत्तम महाराजको प्रवचनमा सम्पन्न हुने महायज्ञ पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।
महायज्ञमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसमेत सहभागी रहेका थिए । सप्ताह महायज्ञमा मूल यजमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द र उनकी श्रीमती मिरा चन्द रहेका छ । महायज्ञ उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै आयुक्त चन्दले वैदिक सनातन धर्म महत्वलाई चिरकालसम्म संरक्षण गर्न गुरुकुल सञ्चालन गर्नु अति नै महत्त्वपूर्ण रहेकाले त्यसको सञ्चालन र व्यवस्थापनका लागि महायज्ञ सप्ताह सुरु गरिएको बताए ।
श्रीमदभागवत महापुराणको महत्वबारे चर्चा गर्दै आयुक्त चन्दले महाराजा परीक्षितलाई सर्पले डसेपछि महाराजालाई मृत्यु शय्याबाट बचाउने उद्देश्यले महाराज शुकदेवले सप्ताह महायज्ञ गरेको र महाराजा परीक्षितले सप्ताह महायज्ञबाट शक्ति आर्जन गरी पुनः जीवन प्राप्त गरेको प्रसङ्ग उल्लेख गरे । भागवत महापुराणको महत्वबारे थप चर्चा गर्दै चन्दले भने, ‘‘पाप, महापाप, ठगी, अनैतिक, अत्याचार, बेतिथिको अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्ने एकमात्र अचुक विधि महायज्ञ रहेको विषय श्रीमद भागवतमा पनि उल्लेख छ । यसको अनुसरण गर्नु नै उत्तम विधि हो ।’’
उनले पापबाट मुक्ति पाउने उत्तम विधि सत्सङ्ग रहेको बताउँदै गुरुकुल सञ्चालनका लागि सुरु भएको महायज्ञमा सबैको सहभागिताका लागि आग्रह गरे । काठमाडौँको उत्तरपट्टिको शिवपुरी डाँडाको फेदमा रहेको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक बुढानीलकण्ठलाई चारधाम मध्येको एक महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा लिने गरिन्छ । सनातन हिन्दु धर्मसँगै बौद्ध धर्मावलम्बीको समेत आस्थाको केन्द्र मानिने बुढानीलकण्ठ मन्दिरमा एउटै शिलाबाट बनेको विशाल मूर्तिमा हरिशयनी एकादशीमा विशेष पूजाआजा तथा मेला लाग्ने गरेको छ।
जनश्रुति अनुसार नीलकण्ठ नाम गरेका एक किसानले जमिन खन्ने क्रममा उक्त मूर्ति फेला पारेको किम्बदन्ती छ । उनै नीलकण्ठ किसानको नामबाट बुढानीलकण्ठ भनी मन्दिरको नामकरण भएको भनाइ रहेको छ । बुढानीलकण्ठमा अवस्थित हरिहर प्रभु अन्दाजी सात आनाको गहिरो पोखरीमा उत्तानो परी अवस्थित रहेको विशाल मूर्तिको लम्बाई २२ फिट १२ इन्च, १२ फिट १ दशमलव पाँच इन्च चौडाइ र ६ फिट गोलाकार रहेको छ ।
११ वटा विशाल शेषनागले बेरेर अवस्था आसन हरिहर प्रभुको मूर्ति एउटै शिवलिङ्बाट बनेको मानिन्छ । सप्ताह महायज्ञ मूल समारोह समितिका संयोजक तथा बुढानीलकण्ठ–२ का वडा अध्यक्ष राजु श्रेष्ठले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बुढानीलकण्ठ मन्दिरको धार्मिक महत्वलाई थप प्रवर्द्धन गर्न महायज्ञ आयोजना गरिएको बताए। उनले धार्मिक महत्वका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण चारधाममध्येको एकधाम बुढानीलकण्ठ मन्दिरको महत्वलाई उजागर गर्न राज्यले विशेष गुरुयोजना तयार गर्नुपर्ने धारणा व्यक्त गरे । हरिबोधिनी एकादशीको अवसर पारेर प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा सप्ताह महायज्ञ तथा कलश यात्रा गर्ने गरिँदै आएको छ ।





