काठमाडौँ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशन गरेर पार्टी विभाजन गरिएको बताएका छन् ।
बुधबार ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित संस्थापन इतरको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई अदालतको निर्णयबाट विभाजित गरिएको टिप्पणी गरे । महाधिवेशनका सन्दर्भमा निर्वाचन आयोग र अदालतले गरेको निर्णय आफूहरूलाई स्वीकार्न गाह्रो भएको समेत निधिको भनाइ छ ।
यति हुँदाहुँदै पनि पार्टी एकताको कुनै बाटो निस्किन सक्छ कि भनेर आफूहरूले पटक-पटक प्रयास गरेको निधिको भनाइ छ । उनले पार्टीभित्र एकताको जरुरी रहेको समेत बताए । तर, साउनभित्र एकता नभए नयाँ कार्यदिशातिर जान बाध्य हुने निधिको चेतावनी छ ।
‘गगन थापालाई सभापति मानेकै हुन्छौं । विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई मानेकै हुन्छौं । हामीले उहाँहरूलाई मान्दा पनि, उहाँलाई (गगन थापालाई) सभापति मान्दा पनि चित्त बुझेको छैन भने यो दुर्भाग्यपूर्ण कुरा मात्र होइन अज्ञानता पनि हुन्छ । यो अपरिपक्वता पनि हुन्छ’, निधिले भने, ‘हाम्रा धारणाहरू जुन छन् त्यसलाई स्वीकार गरेर पार्टी एक बनाऔं र देशमा मडारिन खोजेको खतरालाई एक भएर सामना गरौं । साउनको अन्तिम समयसम्म पनि एकता भएन भने नयाँ कार्यदिशातिर हामी जानुपर्ने बाध्य हुन्छौं ।’





