सेनाका रथी सिग्देल र उपरथी पौड्याललाई दर्ज्यानी चिह्न प्रदान

२०८० मंसिर ३०, शनिबार

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार मन्त्रिपरिषद् बैठकबाट रथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देल र उपरथी दर्जामा पदोन्नति भएका सन्तोषबल्लभ पौड्याललाई शुक्रबार दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

जंगी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापतिले उनीहरूलाई दर्ज्यानी चिह्न लगाएका हुन् । बढुवासँगै रथी सिग्देल बलाधिकृत तथा उपरथी पौड्याल पश्चिम पृतनामा पृतनापति नियुक्त भएका छन् । रथी सिग्देल २१ माघ ०२३ मा कपिलवस्तुमा जन्मिएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सिग्देल ३ फागुन २०४३ मा नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए ।

सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति, पृतनापति र कमान्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, सम्भाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । सिग्देल भारत, इन्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका छन् ।

उपरथी पौड्याल यसअघि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा थिए । विगतमा संयुक्त राष्ट्रसंघ मुख्यालयमा समेत कार्यरत रहेका पौड्याल सेनामा प्राज्ञिक व्यक्तिका रूपमा परिचित छन् । उनी यसअघि नेपाली सेनाको शान्ति सेना निर्देशनालयका निर्देशक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार