काठमाडौँ : अमेरिकामा उडिरहेका बेला झ्यालसहित एउटा भाग भाँचिएर खसेपछि अलास्का एयरलाइन्सले आफ्ना सबै विमानलाई उडान गर्न रोक लगाएको छ।
स्थानीय समयानुसार शुक्रबार साँझ अमेरिकाको पोर्टल्यान्ड (ओरेगन बाट ओन्टारियो (क्यालिफोर्निया) का लागि अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ उडेको केही मिनेटपछि झ्यालसहितको बाहिरी भाग खसेको थियो।
तर विमानलाई पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको र १७१ यात्रु र चालक दलका ६ जना सकुशल रहेको अलास्का एयरलाइन्सले जनाएको छ।
उक्त घटनापछि अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ बोइङ ७३७ म्याक्स ९ विमानलाई ‘अस्थायी रूपमा’ उडान गर्नबाट रोक लगाएको हो। अब सबै विमान निरीक्षण गरेर मात्र उडान गर्न अनुमति दिने बीबीसीले जनाएको छ।





