सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर साहको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेकी छन् ।
आज साँझ घरमै पत्रकार सम्मेलन गरी मेयर कटुवालले आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताएकी हुन् । उनले भनिन्, ‘प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्नुहुँदैन भनेकै छैन । तर आतङ्ककारी शैलीमा आन्दोलन गरियो । त्यसैले दुःखद घटना घट्न पुग्यो ।’ उनले छलफल र संवाद मार्फत समस्या समाधान गर्ने पक्षमा रहेको बताइन् । ‘छलफल गर्नकै लागि बैठक पनि राखेको थिए’, उनले गुनासो गरिन्, आन्दोलन नगर्न म पटक पटक सबैलाई फोन पनि गरेकी छु । मेरो कल डिटेल निकाल्दा हुन्छ । यद्यपि मेरो आग्रहको बेवास्ता गरियो ।’





