आफन्तले शव बुझेपछि सर्लाहीको अवस्था सामान्य

२०८० पुष २३, सोमबार

सर्लाही : सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जय शङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् ।

आइतबार राति ९ बजे घटनास्थलबाट उठाइएको मृतकको शव राति नै पोस्टमार्टमपछि परिवारले बुझेर लगेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले बताए । जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ अबेर ११ बुँदे सहमति भएपछि मृतक साहको शव ७८ घण्टापश्चात् घटनास्थलबाट उठाइएको हो ।

मृतकको शव घटनास्थलबाट उठाइएसँगै बरहथवा बजारको अवस्था आज (सोमबार) सामान्य छ । यस घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समिति पनि आइतबार राति नै सर्लाही आइपुगिसकेको छ ।

टोलीले सोमबारदेखि छानबिन सुरु गर्ने बताइएको छ । बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनपश्चात् सृजित समस्या समाधानका जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूको छलफलबाट ११ बुँदे सहमति गरिएको थियो ।

गृह मन्त्रालयद्धारा गठित छानबिन समितिलाई सबै पक्षले आ–आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानबिन गर्न सहयोग गर्ने, मृतकको परिवारका एक जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात् कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल सञ्चालन सम्बन्धमा नगरप्रमुख र मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको सहकार्य एवं छलफलबाट टुङ्गाउने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जय शङ्कर साहको सालिक स्थापना गर्ने सहमति भएको छ ।

त्यसै गरी, उद्योग वाणिज्य सङ्घ बरहथवासहित पाँच दलीय गठबन्धन (काँग्रेस, जसपा, लोसपा, जनमत र बहु जन एकता पार्टी) ले सबै विरोधका कार्यक्रम स्थगित गर्ने, विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सञ्चालनका लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छलफलले दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अगाडी बढाउने, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारी साधनलगायत सम्पत्तिको क्षतिको मूल्याङ्कन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने निर्णय भएको छ ।

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, अर्थमन्त्री सञ्जय यादव, प्रदेश सभा सदस्य कौशल किशोर राय, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, मधेस प्रदेशका प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराई, मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख (डिआइजी) दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान मधेस प्रदेशका प्रमुख (अनुसन्धान निर्देशक) सञ्जयकुमार यादवसहितको उपस्थितिमा भएको छलफलबाट सहमति जुटेको हो ।गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार