काठमाडौँ : इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक स्वेन गोरान एरिक्सनले आफूलाई क्यान्सर भएको समाचार सार्वजनिक गरेका छन् । उनले उपचारका क्रममा क्यान्सर रोग पुष्टि भए पनि आफू जीवनप्रति सकारात्मक रहेको बताएका छन् ।
७५ वर्षिय स्विडिस नागरिक एरिक्सन आफ्नो समयका प्रभावशाली प्रशिक्षक हुन् । उनी पछिल्लो समय अस्वस्थ्य रहँदै आएका थिए । उनी इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने पहिलो विदेशी नागरिक पनि हुन् ।
एरिक्सनले सन् २००२ र सन् २००६ को फिफा विश्वकप तथा सन् २००४ को युरो कपमा इङ्ल्यान्डलाई क्वार्टरफाइनलसम्म पु¥याएका थिए । ‘क्यान्सर भए पनि म आत्तिएको छैन । म जीवनप्रति सकारात्मक छु । सकेसम्म म योगसँग लड्ने प्रयास गर्नेछु,’ उनले स्विडिस रेडियो पी वानसँगको कुराकानीका क्रममा भनेका छन् ।
उनले ४२ वर्षभन्दा लामो समय प्रशिक्षणमा बिताएका थिए । त्यसअघि उनी खेलाडीको भूमिकामा पनि सक्रिय थिए । उनले इङ्ल्यान्डका अतिरिक्त मेक्सिको, आइभरी कोस्ट र फिलिपिन्सको राष्ट्रिय टोली पनि समालेका थिए ।
एरिक्सनले रोमा, फियोरेन्टिना, लाजियो, लेस्टर सिटीलगायतका विश्व चर्चित क्लबहरुमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । एक वर्ष फिलिपिन्सको राष्ट्रिय टोली समालेपछि उनले प्रशिक्षणबाट पनि बिदा लिएका थिए ।





