नेविसंघका आधा दर्जन नेता पक्राउ

२०८० फाल्गुन १८, शुक्रबार

काठमाडौं : नेपाल विद्यार्थी संघका नेताहरू पक्राउ परेका छन् । संसद् भवन नयाँ बानेश्वरअगाडि विरोध प्रदर्शन गर्ने क्रममा नेविसंघका आधा दर्जनभन्दा बढी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चितवनको शिशु निकेतनमा अध्ययनरत छात्रा शालिन पोखरेल स्कुलको होस्टेलमा मृत्यु भएको घटनाको वास्तविक छानविनको माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको थियो । त्यही क्रममा नेविसंघका केन्द्रीय सदस्यहरू विवेक लामिछाने, बिजेन केसी, बासुदेव न्याउपाने, पुजा फुयाँललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै, भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन सदस्य सुदीप ढुंगाना, नेविसंघ भक्तपुर जिल्ला सहसचिव मोहन कालाथोकी, नेविसंघ पोखरा विश्वविद्यालय अन्तर्गतको एनसिआइटी कलेजका इकाइ अध्यक्ष सन्तोष आचार्य, मोहम्मद अल्ताफलाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ । उनीहरूलाई तीनकुने प्रहरीवृत्तमा राखेको छ ।

चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल १२ फागुनमा स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव भेटिएको पाँच दिनपछि मात्रै पोस्टमार्टम भएको थियो । चितवनमा भएको घटनाको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । मृतक पोखरेलको बलात्कारकापछि हत्या गरिएको आशंका गरिएको छ । तर, विद्यालय प्रशासनले आत्महत्या गरेको दावी गर्दै आएको छ ।

किशोरीले झुण्डिएर आत्महत्या गरेको भनिएको कोठाको ढोका परिवारको रहोवरमा खोल्नुपर्नेमा विद्यालय प्रशासनले नै ढोका फुटाएर खोलेको आफन्तको दावी छ । घटनाको प्रकृति हेर्दा किशोरीले झुण्डिएको नभई सुनियोजित रूपमा हत्या गरिएको र आफन्तलाई झुक्याउन झुण्डाइएको परिवारको आरोप छ ।

घटनालगत्तै आफन्तले प्रहरीमा उजुरी दिन खोजे पनि प्रहरीले नमानेको परिवारको गुनासो छ । चौतर्फी दबाबपछि प्रहरीले तीन दिनपछि जाहेरी लिएको थियो । नेविसंघका केन्द्रीय सदस्य विजय ढुंगानाले निर्मला पन्त प्रकरणजस्तै यो घटनालाई बनाउन खोजिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार