पशुपतिमा शिवरात्रिको दिन चारै ढोकाबाट प्रवेश पाइने

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौं : शिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्र सौन्दर्यीकरणले तीव्रता पाएको छ । शिवरात्रि (२५ फागुन ) लाई लक्षित गरी मन्दिर क्षेत्र सजावट, प्रवेशद्वार र अस्थायी आकासेपुल निर्माण, रंगरोगन, सडक व्यवस्थापन, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, शिवपार्वतीको प्रतिमूर्ति निर्माण, साधुसन्तका लागि बसोवास निर्माणलगायतका काम धमाधम भइरहेको छ । शिवरात्रिलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले मूल समारोह आयोजक समिति गठन गरेको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार चारवटा प्वाइन्टबाट भक्तजन लाइन लाग्न सक्नेछन् भने बिहान २ बजेदेखि नै मुख्य मन्दिरको ढोका खुल्नेछ । यस दिन अत्यधिक भिड हुने भएकाले मन्दिरभित्र धेरै समय लगाएर दर्शन गर्न दिइनेछैन । एक मिनेटमा कम्तीमा एक सयजनाले दर्शन गर्ने व्यवस्था मिलाइनेछ । यसका लागि एकपटकमा नौजनाले मन्दिरको दर्शन गर्न सक्नेछन् । ‘गत वर्षभन्दा यसपटक थप व्यवस्थित बनाउँदै छौँ,’ प्रवक्ता अधिकारीले भने, ‘भक्तजनले मन्दिर प्रवेश गरेर धेरै समय लगाउन पाउनुहुन्न, दर्शन गरेर छिटो फर्किनुपर्नेछ ।’

१० लाखको बत्तीले सजिँदै पशुपति क्षेत्र
कोषले यसपटक फूल र बत्तीको सजावटसँगै सबैखाले व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन गरेको छ । यसबाहेक दाताले आर्थिक सहयोगसमेत गर्ने जनाइएको छ । मन्दिरआसपास र गेटमा सजावट गर्न कोषले ३० लाखको फूल प्रयोग हुने आकलन गरेको छ । यस्तै, १० लाख हाराहारीको बत्ती प्रयोग हुनेछ । बिहानैदेखि भक्तजनको भिडभाड हुने भएकाले चहकिला लाइट जडान गरिनेछ ।

राष्ट्रपति पनि हिँडेरै जाने
महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि पुग्ने भिभिआइपीको सवारीसाधन मन्दिर परिसरमा प्रवेश गर्न पाउनेछैनन् । कोषका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार दिउँसो दर्शनका लागि मन्दिर आउने निश्चित भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने निधो गरेका छैनन् । अन्य उच्चपदस्थ व्यक्ति पनि मन्दिर दर्शनका लागि आउने बताइएको छ ।

चारै ढोकाबाट प्रवेश पाइने
कोषले शिवरात्रिको मुख्य आकर्षण दर्शन नै भएकाले यसका लागि सहज व्यवस्था मिलाएको दाबी गरेको छ । चारवटा प्लाइट तिलगंगा, गौशाला प्रहरी वृत्त अगाडि, जयवागेश्वरी र एयरपोर्टतर्फका प्वाइन्टबाट भक्तजन लाइनमा बस्नेछन् । वृद्धवृद्धा, फरक क्षमता भएकालगायतलाई लाइन लाग्नुपर्ने व्यवस्था गरिएको छैन । २५ फागुन बिहान २ बजेदेखि २६ फागुन बिहान ६ बजेसम्म दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ । महाशिवरात्रिका दिन यसपटक पाँच हजारजना सुरक्षाकर्मी परिचालन हुने कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार कोषका सदस्यसचिवको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति गठन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र सेनालाई शान्ति–सुरक्षाको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सेनाले खोजखबर कक्षसमेत स्थापना गर्नेछ । यस वर्ष करिब दुई हजार पाँच सय साधुसन्त पशुपतिनाथ क्षेत्रमा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार