काठमाडौँ : मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनमा सत्तागठबन्धनको बहुमत पुग्ने भए पनि एमाले र जसपाले मुख्यमन्त्रीमा दाबी गरेपछि संकट लम्बिएको छ ।
जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा एमालेसहित दल आबद्ध हुने कि नयाँ मुख्यमन्त्री चयन गर्ने भन्ने विषयमा गठबन्धनमा सहमति जुट्न नसकेको हो । जसपाले मधेशमा मुख्यमन्त्री बटमलाइन बनाएर केन्द्र सरकारमा सहभागी भएका वेला एमाले मधेश प्रदेश समितिले सरकारमा दाबी प्रस्तुत गरेको हो ।
आइतबार रौतहटको चन्द्रनिगाहपुरमा भएको एमाले मधेश प्रदेश कमिटीको दोस्रो बैठकपछि एमाले मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले कुनै पनि अवस्थामा मधेश प्रदेशमा आफ्नो पार्टीले दाबी नछाड्ने बताए । ‘मधेशमा सबैभन्दा ठूलो दल एमाले हो । मधेशी जनताको जनमत एमाले नेतृत्वको सरकारका लागि भएकाले गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निःसर्त हामीलाई नेतृत्व दिनुपर्छ,’ उनले भने ।
मधेश प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बार्गेनिङका कारण नयाँ सत्तागठबन्धनमा सामेल हुन विलम्ब गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार उपप्रधानमन्त्रीको शपथ लिइसकेका छन् । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले अहिले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धन दलबीच कुनै सहमति नभएको बताए । उनले भने, ‘एमाले मधेश प्रदेशको सबभन्दा ठूलो पार्टी हो । त्यस हिसाबले सरकारको नेतृत्व हामीले पाउनुपर्ने हो ।’
जसपाका मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले गठबन्धन दलबीच मुख्यमन्त्री जसपाले पाउने सहमति भइसकेको बताए । प्रदेशमा मुख्यमन्त्री कायम रहने सर्तमा जसपा संघीय सरकारमा सहभागी भएको उनले बताए । एक सय सात सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ मत चाहिन्छ । एमालेको २३, जसपाको १९, माओवादीको नौ र एकीकृत समाजवादीको सात गरी ५८ मत छ ।
अहिले केन्द्रीय गठबन्धनमा नरहेका कांग्रेसको २२, जनमतको १३, लोसपाको नौ तथा राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका एक–एक गरी ४७ मत छ ।





