कांग्रेसलाई कसले भड्कायो थाहा भएन, सहमतिकै पक्षमा छु : प्रधानमन्त्री

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेपाली कांग्रेससँग अहिले पनि सहमतिकै पक्षमा रहेको बताएका छन् । सहकारी ठगीबारे संसदीय छानविन समिति बनाउन आफू तयार रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । कार्यदलमा सहमतिको प्रयास टुंगिनै लाग्दा नेपाली कांग्रेसलाई कसैले भड्काएको प्रधानमन्त्रीको गुनासो छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र दिन बुधबार अपराह्न बालुवाटार पुगेका सम्पादकहरुको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफू सहमतिका साथ अगाडि बढ्न चाहेको बताएका हुन् । तर, नेपाली कांग्रेस र आफूवीचको राम्रो सम्बन्धलाई कसैले भड्काएर खेल्न खोजेको आशय प्रधानमन्त्रीले प्रकट गरेका थिए ।

‘नेपाली कांग्रेसलाई कसले भड्कायो थाहा छैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो, ‘तर, म अहिले पनि सहमतिकै पक्षमा अघि बढ्ने प्रयासमा छु । संसदीय समिति बनाएर अघि जाने पक्षमै छु ।’

प्रधानमन्त्री दाहालले यस्तो बताइरहँदा जेठ ७ गते संसदमा प्रधानमन्त्री दिएको अभिव्यक्ति पनि स्मरणीय रहेको कांग्रेस नेताहरु बताउँछन् । सो दिन प्रधानमन्त्रीले कांग्रेसलाई चेतावनी दिँदै भनेका थिए,‘नेपाली कांग्रेसले गल्ती ग¥यो । यसको मूल्य निकै चर्को पर्न सक्छ ।’

सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले कैलाश सिरोहियाको गिरफ्तारी गृहमन्त्री रवि लामिछानेको एकल निर्णयबाट नभएर त्यसमा आफ्नो पनि निर्देशन रहेको र सो गिरफ्तारीको जिम्मेवारी आफूले लिने स्पष्ट पारेका थिए ।

नागरिकताको विषयमा भइरहेको अनुसन्धानलाई प्रेस स्वतन्त्रताको विषय नबनाउन आग्रह गर्दै प्रधानमन्त्री दाहालले भनेका थिए, ‘म रहुञ्जेल प्रेस स्वतन्त्रतामा आँच आउन दिन्नँ, ढुक्कु हुनुहा्ेस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार