मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले भोलि (मंगलबार) मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भएका छन्।
सोमबार बिहान १० बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने भनिए पनि अन्तिममा स्थगित भएको थियो। प्रदेश प्रमुखको कार्यालय हेटौँडामा बिहान १० बजेका लागि समय माग गरिएको थियो। प्रदेश प्रमुखले दिएको समयसीमा बाँकी नै रहेकोले सोमबारको कार्यक्रम स्थगित गरिएको कांग्रेसका सांसद कुन्दनराज काफ्लेले जानकारी दिए।
कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको थियो। एमाले संसदीय दलका नेता तथा केही सांसद्हरु काम विशेषले हेटौँडा बाहिर रहेकोले सोमबारको कार्यक्रम स्थगित भएको बताइएको छ। एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको काफ्लेले बताए।
‘प्रदेश प्रमुखले मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा दिनुभएको छ। आज दाबी गरेपनि भोली (मंगलबार) दाबी गरेपनि कुनै समस्या छैन’, उनले भने। केन्द्रमा कांग्रेस र एमालेको बिचमा सत्ता समीकरण बनेपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए। जम्कट्टेलले राजीनामा दिएपछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए।
नयाँ गठबन्धनमा रहेको कांग्रेस र एमालेसँग यहाँ स्पष्ट बहुमत रहेको छ। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद आवश्यक रहेकोमा कांग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना सांसद रहेका छन्। केन्द्रमा भएको सहमति बमोजिम बागमती प्रदेश कांग्रेसको भागमा परेको हो। यहाँ कांग्रेसको नेतृत्वमा पहिलो पटक सरकार गठन हुन लागेको हो।





