सर्लाही : पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँका २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन्। गोडैता नगरपालिका-१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





