काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाने भएकी छन् ।
परराष्ट्रमन्त्री राणा स्वास्थ्य उपचारका लागि जापान जान लागेकी हुन् । परराष्ट्र मन्त्री राणा मंसिर १० गते जापान जाने स्रोतले जानकारी दिएको छ । त्यसको भोलिपल्ट जापानको अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी छ । परराष्ट्र मन्त्री राणा जापानबाटै मंसिर १४ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
मंसिर १५ गते परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा जाँदैछन् । मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी नै छ । बेइजिङ पुगेको भोलिपल्ट चिनियाँ समकक्षीसँग भेटवार्ता हुने भए पनि चिनियाँ प्रधानमन्त्री ली छियाङ र राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने–नहुने यकिन छैन ।
काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतावास र बेइजिङस्थित नेपाली राजदूतावासले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता गराउने प्रयास जारी राखेका छन् । औपचारिक रुपमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति घोषणा भइनसकेपनि चिनियाँ पक्षले १७–२१ मंसिर (२–६ डिसेम्बर) का लागि प्रस्ताव गरेको छ ।





