छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

२०८३ श्रावण ६, बुधबार

जनकपुरधाम : बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन भएको हो । आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ रु दुई अर्ब छ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।

यस्तै ब्याजकरतर्फ रु सात करोड ७८ लाख तीन हजार, बहालकरतर्फ रु पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले बताए  ।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा रु चार अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब ९० करोड सङ्कलन गरेको थियो । प्रमुख गुप्ताका अनुसार आव २०८२/८३ मा रु छ अर्ब ८५ करोड ७२ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन् ।

करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार