हुम्ला : हिमपात भएसँगै हुम्लाको जनजीवन प्रभावित बनेको छ। आइतबार बिहानैदेखि हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको हो।पश्चिमी बायु सक्रिय बन्दा बिहान ७ बजेदेखि सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भइरहेको छ।
सदरमुकाम सिमकोटमा भारी हिमपात हुँदा नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान अवरुद्ध बनेको छ। हिमपात भएसँगै किसान भने खुसी भएका छन्। उनीहरू बाली सप्रिने आसमा खुसी भएका हुन्। यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।





