काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए पनि संसदीय छानबिन समिति बनाउने कुरामा सरकारका तर्फबाट प्रतिबद्धता जनाइनुपर्ने माग गरेको छ।
बुधबार (आज) सभामुख देवराज घिमिरेसँगको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘यदि गृहमन्त्रीज्यूलाई मार्गप्रशस्त नै गर्न असजिलो भएको हो भने सरकारका तर्फबाट छानबिन समिति बनाउने कुरामा प्रतिबद्धता जनाइयोस्,’ उनले भने, ‘हामी मान्छौँ।’
उनले आफूहरूले गृहमन्त्री लेखकलाई दोषी आरोपित नगरेको बताए। तर, अध्यागमन गृह मन्त्रालयअन्तर्गतकै भएको उल्लेख गर्दै उनले भने, ‘हामीले छानबिन गर्नुपर्छ, त्यसका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भनेका छौँ। तर, जवाफदेहिता त चाहिन्छ नि। अध्यागमन त गृह मन्त्रलायअन्तर्गत नै हो नि।’





