काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका अधिकारलाई थप संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपेक्षित, उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन अपरिहार्य रहेको उल्लेख गरे ।
‘संविधानले नेपाली जनताको अधिकारलाई अझै बलियो बनाउनुपर्छ । उपेक्षित र उत्पीडित समुदायको पहिचान र हक सुनिश्चित गर्न संशोधन जरुरी छ,’ प्रचण्डले भने । उनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले संशोधनका लागि अग्रसरता देखाएमा प्रमुख प्रतिपक्षी दलको हैसियतले दुई तिहाइ बहुमत जुटाउने जिम्मेवारी आफूले लिने प्रतिबद्धता व्यक्त गरे ।
शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम र सिमाङ्कन, वित्तीय सङ्घीयता, समावेशिता र सामाजिक न्यायका विषयमा प्रगतिशील संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक रहेको उनको भनाइ थियो । ‘यदि सरकारमा हिम्मत छ भने, प्रमुख प्रतिपक्षका नाताले दुई तिहाइ बहुमत जुटाउने जिम्मा म लिन्छु,’ उनले भने । प्रचण्डले सरकारको कार्यशैलीले गणतन्त्रको भविष्यमाथि खतरा उत्पन्न भएको दाबी गरे ।
‘गणतन्त्रमाथिको खतरा राजावादी वा अन्य कसैबाट होइन, सरकारको कार्यशैलीबाटै हो,’ उनले भने ।उनले वर्तमान निर्वाचन प्रणाली, कार्यशैली र शासकीय संरचनाले जनतामा असन्तुष्टि बढिरहेको बताए । ‘नेपाली जनताको अपेक्षाअनुसार शासन प्रणाली सञ्चालन हुन सकेको छैन। व्यवस्थाप्रति जनविश्वास घट्दै छ । अब गम्भीर समीक्षा आवश्यक छ,’ उनले भने।





