काठमाडौं : गृहमन्त्री रमेश लेखकले ०८४ सालको निर्वाचनसम्मै वर्तमान सत्ता समीकरण अघि बढ्ने बताएका छन् । काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर स्थिर सरकार दिएको बताए । ‘०८४ सालको निर्वाचनसम्म समीकरण रहन्छ । सरकारको स्थिरता रहन्छ । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्टताको साथ भनेका छौँ । नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या हुँदैन । त्यसले निरन्तरता पाउँछ । तपाईंहरु ढुक्कसँग काम गर्नुस्’ उनले भने ।
मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि नागरिकका समस्या समाधान हुन सक्दैनन् भन्ने बुझेर बनेको सरकार भएको बताए । सरकारको स्थिरताले भूमि समस्या समाधान आयोगको स्थिरता पनि कायम हुने बताए । यसले परिणाम राम्रो निस्किने विश्वास व्यक्त गरे । नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्ट रहेको र सरकारको नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या नहुने बताए ।
गृहमन्त्री लेखकले सरकारले आयोगलाई गर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिवद्धता जनाए ।





