काठमाडौं : स्पेनिस ला लिगामा लिग लिडर रियाल मड्रिडले अपराजित यात्रा कायम राखेको छ ।
रियालले शनिबार राति लिगको चौथो खेलमा रियाल सोसिडाडविरुद्ध उसैको मैदानमा २–१ को रोमाञ्चक जित निकालेको हो । एरिनामा पाहुना टिमलाई जित दिलाउन किलियन एमबाप्पे र अर्दा गुलरले गोल गरे । घरेलु टिमका मिकेल ओयारजबाईले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
खेलको १२औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियाललाई अग्रतामा राखेका थिए । ३२औँ मिनेटमा डिन हुइसेनले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटिएको थियो । ४४औँ मिनेटमा गुलरले गोल गरेसँगै रियालले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ५६औँ मिनेटमा घरेलु टिमका ओयारजबाईले गोल फर्काए ।
ला लिगामा लगातार चौथो जित निकालेको रियाल १२ अंकसहित तालिकाको शीर्ष स्थानमा स्थानमा छ । समान खेलबाट दुई अंकको सोसिडाड १७औँ स्थानमा छ । सोसिडाड लिगमा अझै जितविहीन छ ।





