तोकिएको समयमै चुनाव हुन्छ : निर्वाचन आयोग

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल भएको हो । बैठकमा दलका प्रतिनिधिहरूले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्बद्ध पक्षसँग निरन्तर छलफल गर्न सुझाएका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदातालाई निर्भयपूर्वक सहभागी हुने वातावरण बनाउनुपर्नेमा दलहरूको जोड छ । यस्तै दलहरूले आचारसंहिताको पूर्णपालना, निर्वाचनलाई कम खर्चिलो बनाउन र विद्यमान विषम परिस्थितिमा हुन लागेकाले सरोकारवालासँग निरन्तर छलफल गर्न आयोगलाई सुझाव दिएका छन् ।

छलफलमका आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन हुन लागेकाले सबै दलहरूलाई सहभागी हुन आग्रह गरे । आयोगले पटकपटक सरोकारवालासँग छलफल गरिरहेको बताउँदै उनले स्रोत, साधन र शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारले प्रतिबद्धता जनाएको दलहरूलाई जानकारी गराए ।

निर्वाचनमय वातावरण बनाई कसैले पनि निषेधको राजनीति नगर्न समेत आयोगले सबैको ध्यानाकर्षण गराइसकेको बताउँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले तोकिएको समयमै निर्वाचन हुने विश्वास दिलाए । छलफलमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधार र सगुन सम्शेर जबरा तथा आयोगका सचिव महादेव पन्थ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार