महोत्तरी : तिहार पर्वको समापनसँगै बिहीबार (कात्तिक ७)देखि तराई मधेससहित देशका विभिन्न स्थानमा छठ पर्वको धमाधम तयारी सुरु गरिएको छ ।
मिथिलाको प्रमुख पर्वका रूपमा मानिने छठका निम्ति यहाँका पोखरी, नदी, तलाउहरूमा तयारी सुरु भएको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए । सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरूमा सरसफाइ, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर–८ का वडाध्यक्ष विजयकुमार सिंहले बताए ।
मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीले यो पर्वलाई धुमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।
सूर्य तथा छठी माताको पूजाका निम्ति जलेश्वर–८ स्थित पाठकपोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, त्यहाँ पुग्नका निम्ति पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । ५०० मिटरसम्म गुफावाला पण्डाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
जलेश्वर–१ स्थित वरुण सरोवरमा पनि छठ पर्वका निम्ति चारैतिर ठूलठूला पण्डाल, रंगीचंगी साजसज्जा भइरहेको वडाध्यक्ष अनिल झाले बताए । यस्तै, जिल्लाका मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायत स्थानका नदीमा छठ मनाउने चलन भएकाले त्यहाँ धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए ।





