काठमाडौं : झापाको क्षेत्र नं. ४ मा पर्ने झिलझिलेमा आयोजित श्रम संस्कृति पार्टीको निर्वाचन आमसभालाई सम्बोधन गर्दै धरानका पूर्व मेयर तथा सो पार्टीका अध्यक्ष हर्क साम्पाङ बालेन शाहमाथि आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
उनले बालेनलाई खतरनाक भन्दै उनको लोकप्रियता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।
साम्पाङले बालेनलाई युवाहरूलाई उचालेर भाग्ने व्यक्तिको रूपमा चित्रण गरे । ‘बालेन खतरनाक मान्छे हो, म राम्रोसँग चिन्छु । त्यही मान्छे होइन जेन्जीलाई आन्दोलनमा जान उक्साउने ? अनि आउनुस् न त देश सम्हालौँ भन्दाखेरि फेरि ६ महिना लुकेर बस्ने ? अहिले फेरि प्रधानमन्त्री हुने रे,’ साम्पाङले भने ।
उनले बालेनले मिडियालाई आफ्नो मुठ्ठीमा पारेको आरोप पनि लगाए । ‘फेसबुकबाट फेरि मिडिया सबै किन्यो कि क्या हो ? हाम्रो यति ठुलो कार्यक्रम हुन्छ, हाम्रो बारेमा त आउँदैन, उनीहरूको चाहिँ आइरहन्छ । विचार के हो त उसको ? ।’





