काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिला नभएर महाधिवेशनको तयारीमा लाग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षधरलाई आग्रह गरेका छन् ।
निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई महाधिवेशनमै लिएर जान आग्रह गरे ।
“यो समय मुद्दा मामिलाको होइन, महाधिवेशनको हो । महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ,” पौडेलले भने, “म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।”
महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै यसैले कांग्रेसमा नयाँ उर्जा र गति दिने बताए ।





