काठमाडौँ : संस्थागत निर्णयबिना नै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै एमाले नेता प्रदीप ज्ञवालीले अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको उल्लेख गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटपछि व्यापक बनेको वामपन्थी एकताको चर्चापछि ज्ञवालीले सामाजिक सञ्जालमा टिप्पणी गर्दै उक्त विषय राखेका हुन् ।
आजको चुनौती वामपन्थी या कम्युनिष्ट आन्दोलनको दायरामा मात्र सीमित नभएको भन्दै उनले लेखेका छन्-
‘नेपालले लामो प्रयत्नपश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानूनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा ‘तिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठूलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ ।’





