काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीभित्र उठ्दै आएको लेबीसम्बन्धी विषयमा परिमार्जन गर्दै नयाँ व्यवस्था अनुमोदन गरेको छ।
अब रास्वपाका सांसदहरूले पार्टीलाई मासिक १५ हजार रुपैयाँ लेबी तिर्नुपर्ने निर्णय गरिएको छ। यसैगरी, पार्टीबाट मन्त्री बनेकाहरूले मासिक १८ हजार रुपैयाँ र स्वकीय सचिवहरूले दुई हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। यस निर्णयसँगै पार्टीको मासिक आम्दानीमा पनि परिवर्तन आउने भएको छ।
हाल प्रतिनिधिसभामा रहेका रास्वपाका १८२ सांसदबाट मासिक १५ हजारका दरले लेबी उठाउँदा करिब २७ लाख ३० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। यो रकम वार्षिक रूपमा तीन करोड २७ लाख ६० हजार र पाँच वर्षमा करिब १६ करोड ३८ लाख रुपैयाँ पुग्ने देखिन्छ।
यसअघि भने रास्वपाले प्रतिसांसद मासिक २५ हजार रुपैयाँ लेबी उठाउँदै आएको थियो भने स्वकीय सचिवबाट दुई हजार पाँच सय रुपैयाँ संकलन गरिन्थ्यो।





