काठमाडौँ : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको तथ्यांक संकलन गरिएको छ । उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका सुकुम्बासीहरूको विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।
थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको छ । यसैगरी, होल्डिङ सेन्टरमा रहेकाहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ ।
थप उपचार आवश्यक परेमा काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित वडा नं.११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं.३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएका छन् ।
ती केन्द्रहरूबाट सामान्य प्राथमिक उपचार सेवा प्रदान भइरहेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
सरकारले आज विहानैदेखि सुकुम्बासी बस्ती खाली गराउने कार्य सुरु गरेको थियो । थापाथलीको बस्ती खाली गरेर डाजरहरु गैरीगाउँको बस्ती खाली गराउन पुगेको थियो । अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भट्टराईका अनुसार हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना भएको छैन ।
महानगर प्रहरीका अनुसार गैरी गाउँमा कम्तीमा पनि एक सय घर टहरा भत्काइएको छ ।





