काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका निवर्तमान केन्द्रीय अध्यक्ष फणी राज लोहनी (राजु) ले पार्टी परित्यागको घोषणा गरेका छन् ।
लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय रहँदै आएका लोहनीले पार्टीको वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता लोहनीले आफ्नो जीवनको सुन्दर समय राप्रपामै बिताएको स्मरण गर्दै आफू राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको एजेन्डामा सदैव अविचलित र कट्टर रहने स्पष्ट पारेका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको सैद्धान्तिक विचलन र नेतृत्वको निरङ्कुश प्रवृत्तिका कारण उत्पन्न परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै उनले पार्टी अब सही दिशामा अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताए ।
लोहनीले पार्टी नेतृत्वले फरक मतलाई निषेध गरेको र बोलेकै भरमा ‘कारबाहीको डन्डा’ बर्साउने गरेको आरोप समेत लगाएका छन् । ‘पार्टीभित्र फरक मतलाई निषेध गर्दै बोल्यो कि कारबाही गर्ने जुन निरङ्कुश चिन्तन थियो, त्यसले एक दिन दुर्घटना निम्त्याउँछ भन्ने निष्कर्षमा म पुगेको थिएँ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।





