काठमाडौँ : फिल्म ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रूपमा देखिने भएकी छन् ।
निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्ममा उनलाई अनुबन्धित गरेका हुन् । यो फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायाङ्कनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरूको लाइनअप पुरा भएको छ ।
कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको फिल्म हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले अनुबन्धित गरेका हौँ ।’ फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई सुमन गजमेरले लेखेका हुन् ।
कविताले यसअघि फिल्म ‘एक्लो’मा काम गरिसकेकी छिन् । जसमा रहेको उनको एक्सनलाई दर्शकले रुचाएका थिए ।





