काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा पार्टीले विश्वासको मत दिएकोबारे प्रष्ट्याएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले राजनीतिक अस्थिरतालाई रोक्न आफूहरूले विश्वासको मत दिएको बताएका छन्।
‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ,’ उनले भने, ‘राजनीतिक अस्थिरताका विरूद्धमा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।’
उनले अहिले मुलुकमा विकास र समृद्धिका लागि अस्थिरता र अराजकता चुनौती बनेको पनि बताए। मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका थिए। नेकपा एमाले सरकारबाट बाहिरिएसँगै उनले विश्वासको मत लिनुपरेको थियो। तर एमालेले मत दिँदा यादवले सबै दलबाट विश्वास पाएका हुन्।





