सिड्नी : न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानासाह नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानासाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका हुन् । ‘चीनको सरकारको रूप चिनियाँ जनताका लागि हो, चीनका जनताले सीलाई स्वीकारेका छन्,’ हिपकिन्सले पत्रकारहरूसँग भने ।
चिनियाँ जनताले पनि आफ्नो सरकार तानासाह हो भनेर भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘यदि उनीहरू आफ्नो शासन प्रणाली परिवर्तन गर्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो ।’ हिपकिन्सले जुन २५ देखि ३० सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ, जसमा न्युजील्यान्डका केही ठुला कम्पनीहरू समावेश रहेको व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन्।
सो क्रममा चिनिया राष्ट्रपति सीसहित प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट गर्नेछन्। बाइडेनले राष्ट्रपति सी जिनपिङलाई ‘तानासाह’ भनेर उल्लेख गरेपछि चीनले बुधबार जवाफी प्रहार गरेको छ । भनिएको छ ‘अमेरिकी राष्ट्रपतिको भनाई बेतुक र उत्तेजक छ, यसले दुवै पक्षलाई द्वन्द्वमा लैजाने छ, यो डरलाग्दो पनि छ ।’





