कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

२०८० असार १५, शुक्रबार

विराटनगर, : कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो ।

मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । 

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्  । 

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन बाध्य भएका हुने । मुख्यमन्त्री कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ ।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ ।  कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार