काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि सुन तस्करीमा अनुसन्धान हुनुपर्ने माग संसद्मा उठेको छ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेको भन्दै सांसदहरूले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।
चिनियाँ नागरिक ली हानसङले दुबईबाट २०७९ पुस १० मा विद्युतीय चुरोटमा लुकाएर ल्याएको सुन भन्सारले जफत गरेको थियो । लीको लगेजमा रहेका ७३ बट्टामा ७ सय ३० थान भेप भेटिएको थियो । जफत भएको भेप विमानस्थल भन्सार कार्यालयमा राखिएका बेला राहुल महराले प्रमुख भन्सार अधिकृतलाई फोन गरेर लिलामी गर्नेबारेमा जिज्ञासा राखेका थिए । जफत गरिएको सुन गैरकानुनी रूपमा बेचबिखन गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले महराले मोबाइलबाट फोन गरी ‘जफत भएको इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया’ बारे सोधेका प्रहरीलाई बयान दिएका छन् । भन्सार प्रमुखले नै नाम उल्लेख गर्दा पनि सोधपुछ नगरी संरक्षण दिएको भन्दै विपक्षी दलका सांसदहरूले बुधबार प्रतिनिधिसभा बैठकमा विरोध गरेका हुन् ।
‘हामीले सुनेका छौं– माओवादीका नेता कृष्ण महरा र छोराले सामान छुटाउन धेरै पटक फोन गर्नु भयो । बाहिर निकाल्न सम्भव नभएपछि सिगरेटकै रूपमा लिलाममा लान दबाब दिइयो,’ एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा भने, ‘सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) ले छानबिन गरेर ५ जनालाई मुद्दा पनि चलायो । सुन ल्याउने चिनियाँ नागरिकसँग १ सय ९५ पटक फोन गर्ने महरा बाबुछोरालाई बोलाएर अनुसन्धान गरिएन । प्रश्न गर्ने काम पनि भएन ।’ महरा बाबुछोरालाई सत्ताको आडमा उन्मुक्ति दिइएको उनले टिप्पणी गरे ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन काण्डमा मुछिएकालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए । उनले भने, ‘अरू प्रकरणमा पनि केही नाम आएका छन् । यसको पनि छानबिन होस् ।’ राप्रपाकै प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वसभामुख महरा र उनका छोरामाथि छानबिन हुनुपर्ने बताए । एमालेका ठाकुर गैरेले विद्युतीय चुरोटमा सुन ल्याएको घटनामा मुछिएका व्यक्तिलाई पनि गिरफ्तार गरेर कारबाही अघि बढाउनुपर्ने बताए । ‘ई–सिगरेटमा नाम आएकालाई किन गिरफ्तार गरिँदैन ?’ उनले भने ।कान्तिपुर





