सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : जनार्दन शर्मा

२०८० श्रावण १७, बुधबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका छन्। अर्का उपमहासचिव वर्षमान पुनले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरिरहेका बेला शर्माको यस्तो अभिव्यक्ति आएको हो।

कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन जाने क्रममा शर्माले सुन तस्करी प्रकरणबारे छानबिन गर्न समिति आवश्यक नपरेको बताएका हुन्। उनले भने,’राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकै छ। किन चाहियो उच्चस्तरीय समिति ?’

शर्माले सुन प्रकरण अनुसन्धानमा सहयोग गर्न एमालेलाई आग्रह समेत गरे। उनले भने,’ विपक्षीलाई आग्रह छ, छानबिन भइराखेको छ। छानबिन हुन दिनुहोस्। चित्त नबुझ्दा तपाईंले उठाएको विषय फेरि उठ्ला।’

शर्माको यस्तो अभिव्यक्तिले माओवादी केन्द्रभित्रै सुन तस्करीको छानबिन गर्ने विषयमा दुई धार देखिएको छ। प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरी समितिको माग गर्दै आएपछि संसद बैठक समेत बस्न सकेको छैन। पछिल्लो समय सत्तारुढ दलकै युवा सांसदहरुले पनि सुन तस्करीको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्दा राम्रो हुने बताएका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा संसदमा कुनै प्रतिक्रिया दिएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएको १ क्वीन्टल सुन असार ३ गते राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार