काठमाडौँ : आज (शनिबार) राति देशभर मौसम बदली (आकाशमा बादल) र सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा कतिपय स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सजगता अपनाउन महाशाखाले सुझाव पनि दिएको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा मधेश प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (आइतबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ- कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।





