काठमाडौं प्रशासनले भन्यो: बिदाको दिन पासबिना सरकारी गाडी चलाउन पाइन्न

२०८० भाद्र १८, सोमबार

काठमाडौं : काठमाडौं जिल्‍ला प्रशासन कार्यालयले बिदाको दिन पास बिना सरकारी गाडी चलाउन नपाइने बताएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सबिना काफ्ले चढेको गाडी रोकेको विषयमा काठमाडौं जिल्‍ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति जारी गरेको हो।

‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएको अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था छ। यसबाट निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ,’ विज्ञप्तिमा भनिएको छ।

गृहको निर्देशन अनुसार नै स्‍थानीय प्रशासन निरन्तर क्रियाशील रहेको प्रशासनले जनाएको छ। पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्‍ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा अवरोध नपुर्‍याउन अनुरोध गरेको छ। विज्ञप्ति जारी गर्दै प्रशासनले कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन र वक्तव्यबाजी नगर्न पनि अनुरोध गरेको हो।

‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट‍्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउनुहुन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्‍छ,’ सहायक प्रमुख जिल्‍ला अधिकारी खड्गबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ।’

शनिबार राति करिब ९ बजे कोटेश्वरमा बालेन पत्नी चढेको सरकारी गाडी चेकिङमा परेको थियो। त्यस विषयलाई लिएर मेयर बालेनले सिडिओ जितेन्द्र बस्नेतलाई सम्पर्क गरेका थिए भने सामाजिक सञ्जालमा समेत आक्रोश पोखेका थिए। यसै विषयमा मेयर शाहको सचिवालय समेतले विज्ञप्ति जारी गरी अनावश्यक केरकार गरेको जनाएको थियो।

तर ट्राफिक प्रहरी र प्रशासनले कुनै पनि अनावश्यक प्रश्न नसोधेको र नियमित चेकिङ गरी मेयर पत्नी चढेको गाडी रहेको जानकारी पाएपछि छाडिएको बताएको थियो। असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरूत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण समेत भएको जनाएको छ।

‘कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभुत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध छ। यस कार्यमा अहोरात्र क्रियाशील निकाय तथा सम्बद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आम नागरिक समक्ष हार्दिक आग्रह गरिन्‍छ,’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार