ढुङ्गेधारामा पानी आउँछ पिउन मिल्दैन

२०८० भाद्र १८, सोमबार

ललितपुर : ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुङ्गेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय छ ।

सौगल टोलको ढुङ्गेधारामा पानी आइरहेको भए पनि धारासँगै लेखिएको छ, “पानी फोहर भएको कारणले नखाई दिनुहोला ।” ऐतिहासिक ढुङ्गेधाराबाट झरेको पानी दूषित भएकाले प्रयोगविहीन भएको छ । निजी धारामा पानी हप्तामा दुई दिन आउँछ । स्थानीयवासीले ट्याङ्करको पानी प्रयोग गरिरहेका छन् । विसं २०१५ मा राजा महेन्द्रले धारालाई पुनःनिर्माण गरेपछि ढुङ्गेधारा प्रयोगमा आएको इतिहास छ । ढुङ्गेधाराको पानी पिएर हुर्केको अनुभव सुनाउछन् सौगल टोल सुधार समितिका सल्लाहकार ८० वर्षीय बत्सगोपाल वैद्य । उनले भने, “पहिले हामी ढुङ्गेधाराकै पानी प्रयोग गथ्र्यौं । अहिलेको जस्तो ट्याङ्करको पानी प्रयोग हुँदैनथ्यो । ढुङ्गेधाराको पानी पिउन र कपडा धुनका लागि टोलवासीलाई प्रशस्त पुग्थ्यो ।”

पानीको मुहानबाट नै पानी नझर्नु र बस्ती विस्तारका क्रममा राजकुलो मासिनुले पहिलेको जस्तो पानी धारामा झर्दैन । फागुनदेखि वैशाखसम्म त ढुङ्गेधारामा पानी आउन नै बन्द हुन्छ । करिब तीन महिना जति ढुङ्गेधारा सुक्खा अवस्थाामा हुन्छ । आजभन्दा केही वर्षअघि धारामा वर्षभरि निरन्तर पानी झरे पनि आजभोलि बर्खायाम सुरु भएपछि मात्र पानी झर्ने गरेको स्थानीयवासी बत्सगोपाल वैद्य बताउछन् । पाटन दरबार क्षेत्रको आसपासको टोलमा धेरै राणाकालीन ढुङ्गेधाराहरु छन् ती ऐतिहासिक धाराहरुमा अहिले पानी झर्दैन । सौगलको मल्लकालीन ढुङ्गेधारामा पुनःनिर्माणपछि पानी झरे पनि पानी प्रयोगविहीन छ । तीव्र रुपमा बस्ती विस्तार गर्ने क्रममा राजकुलोमा ढलको पानी मिसिएको हुनसक्ने स्थानीयवासी रवीन्द्रनारायण मानन्धर बताउछन् । उनले भने, “ढुङ्गेधारामा मुहानबाट राजकुलो हुँदै पानी आउने हो । राजकुलोलाई व्यवस्थित गर्न नसक्दा ढल विस्तार गर्ने क्रममा ढलको पानी कुलोमा मिसिएकाले पानी दूषित आएको छ ।

त्यसकारणले दूषित पानी पिएर कुनै पनि व्यक्ति बिरामी नपरोस् भनेर सूचना टाँसेका छौँ ।” मल्लकालीन समयको ऐतिहासिक ढुङ्गेधारामा पानी झर्दा सौगल टोलको शोभा बढाएको छ भने पर्यटकहरुका लागि पनि ढुङ्गेधारा हेर्न पुग्नुपर्ने गन्तव्य बनेको छ । पाटन दरबार क्षेत्रमा सुन्धारालगायत धेरै धाराहरु छन् तर ती धाराको पानी पिउन मिल्दैन । ढुङ्गेधाराको पानी पिउनयोग्य बनाउनका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार