काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बिपी जयन्तीमा राप्रपानिकट नेपाल प्राज्ञिक परिषदले गरेको गोष्ठीमा गरेको भाषणको भिडिओ चर्चामा छ।
‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद भण्डारी पनि सहभागी थिए। उक्त कार्यक्रममा आफूले करिब आधा घन्टा बोले पनि काटछाँट गरेर छोटा भिडिओ क्लिप बनाएर स्वार्थअनुसार पोस्ट गरिएको पाइएको भण्डारीले बताए।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि कांग्रेस सांसद भण्डारीले बोलेको भिडिओ क्लिप फेसबुकमा राखेका छन्। उक्त भिडिओमा भण्डारीले बोलेका कुरा राखिएको छ।
‘…मुलुकको मजबुतीका निम्ति राजा आवश्यकता छ। सबै कुरा त हामी सम्हाल्न सकौंला भोलिका दिनमा, यदि नेपालमा साम्प्रदायिक र साँस्कृतिक द्वन्द्व भयो भने हामी सम्हाल्न सक्दैनौं।
बिपीले भन्नुभएको छ- राजाको घाँटी र मेरो घाँटी एकै ठाउँमा जोडिएको छ। देश रहे राजा रहने हो, देश रहे मैले सोचेको प्रजातन्त्र रहने हो, यति न हो बिपीले भनेको…’
भण्डारीले बोलेको यो भिडिओ क्लिप फेसबुकमा राखेका राप्रपा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘नेपाली कांग्रेसमा चन्द्र भण्डारीजस्ता नेता र सांसद पनि छन्। कांग्रेसले आफूलाई वामपन्थीकीकरण हुनबाट रोकेर बिपीको मेलमिलाप नीतिमा फर्कने हिम्मत गर्न सक्यो भने देश र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई फाइदै हुनेछ।





