काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरेका छन् ।
एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरे । सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनले जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताए ।
महासचिव पोखरेलले देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसलाई कार्यान्वयनको लागि एमालेले नेतृत्व गरिरहेको बताए । सिङ्गो नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने कामको अगुवाइ नेकपा एमालेले गरेको उनले दाबी गरे ।आज राष्ट्रलाई जोड्ने अभियानमा एमालेले अगुवाइ गरेको उनले स्मरण गराए ।
आज एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दीको प्रयास भएको उनले बताए । यस्तो बेलामा पनि देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा रहेको पोखरेलले प्रष्ट पारे । सुशासनको कुरा गर्ने सरकारलाई भ्रष्टाचारको घटना छानबिन गर्न समेत प्रतिपक्षले दबाब दिनु परेको उनले स्मरण गराए ।
गठबन्धन सरकारले देश बरबाद गर्ने काम मात्र गरेको उनले बताए । अहिलेका प्रधानमन्त्री जनतालाई जस्तोसुकै समस्या परे पनि मस्तराममा रहेका उनको भनाइ छ । देश गम्भीर समस्यामा परेको बेला पनि प्रधानमन्त्री १५ दिनसम्म विदेश भ्रमणमा गएको भन्दै उनले आलोचना गरे । ‘गठबन्धनको नेतृत्व जति बेलासम्म सरकारमा रहन्छ, जनताको भाग्य र भविष्य बरबाद हुँदै छ, त्यस अर्थमा यो सरकारलाई छिटो भन्दा छिटो बिदा दिनुपर्छ’ उनले भने ।
जनताले रोजेको पार्टी नेकपा एमाले नै भएको उनले बताए । तर जनताले रोजेको पार्टी अहिले प्रतिपक्षमा रहेको उनले सुनाए ।आउने निर्वाचनमा जनताले रोजेको पार्टीलाई सत्तामा पुर्याउने गरी मत दिनु पर्नेमा पोखरेलले जोड दिए ।





