म्याग्दी : बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भिड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भिड बढेको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले दसैँलगत्तै तातोपानीमा नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको बताए ।
हरेक वर्ष हजारौँ सर्वसाधारण यहाँ आउने गर्छन्। तातोपानीमा नुहाउँदा बाथ, युरिक एसिड, ग्यास्टिक, गानोगोलालगायतका रोग निको हुने बताइन्छ । अघिल्लो वर्षमा दसैँलगत्तै आउने गरेकोमा यस वर्ष एकै पटक धेरै मानिस आउँदा व्यवस्थापनमा केही कठिनाइ भएको उनको भनाइ छ ।अहिले कुण्डमा दैनिक नुहाउने महिला र पुरुष गरी आठ सयभन्दा बढीले स्नान गरिरहेको केसीले बताए । धेरै मानिस आएको हुँदा तीन चरणको समय तालिका बनाएर नुहाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
“पहिले बर्खाको सिजनमा नुहाउने हुँदैनथे तर यस वर्ष बर्खामा पनि धेरै जना आएर नुहाए, अहिले जाडो मौसम सुरु भएसँगै यहाँ आउनेको भिड बढेको हो,” उनले भने, “प्राकृतिक उपचार केन्द्र भएको हुँदा धेरैले विश्वास गरेर आएका छन् ।” बागलुङदेखि स्नान गर्न आएका विष्णु आलेले आफू लामो समयदेखि ग्यास्टिकको बिरामी भएको हुँदा परिवारसहित नुहाउन आएको बताए । उहाँ अझै पाँच दिन बसेर नुहाउने तयारीमा आएका हुन् ।
आलेले भने, “यहाँ आएको दुई दिन भयो, निकै भिड रहेछ । म पहिला पनि आएको थिएँ तर यत्तिको चाप थिएन । यस पटक भने नुहाउनेहरू धेरै आएका रहेछन् । म पनि अझै केही दिन नुहाएर जाने योजना बनाएको छु ।”
कुण्डमा भिड बढेसँगै तातोपानी बजारका होटल व्यवसायी उत्साहित बनेका छन् । होटल व्यवसायी मन शेरचन तुलाचनले अघिल्लो वर्ष यो बेला कम मानिस आउँदा व्यवसाय त्यत्ति राम्रो नभएको बताए । यस वर्ष दसैँको भोलिपल्टदेखि नै नुहाउन आउनेको चाप बढ्दा व्यापार राम्रो भएको उनले बताए ।





