म्याद गुज्रिएका सामग्री बेच्नेलाई जरिवाना

२०८० कार्तिक १७, शुक्रबार

घोराही : दाङमा चाडपर्व लक्षित गरी अनुगमन गरिएको छ । अनुगमनबाट प्राप्त म्याद गुज्रिएका सामग्री नष्ट गरी बिक्री गर्नेलाई जरिवाना गरिएको छ । लमही नगरपालिकाले तिहारलगायतका चाडपर्वलाई लक्षित गरी शुक्रवार लमही बजारका पहलसमा अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा भेटिएका अखाद्य तथा म्याद गुज्रिएका सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

अनुगमनका क्रममा लमहीको कान्छीरोडमा रहेको डिके सप्लायर्समा एक बर्षअघि म्याद गुज्रेका समान फेला परेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापाले जानकारी दिए । उनका अनुसार म्याद गुज्रिएका सामग्रीलाई स्थानीय प्रशासन, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघका प्रतिनिधिको सहभागीतामा खाडल खनेर गाडिएको छ ।

उनका अनुसार लमही नगरपालिका –५ सुनखोलीमा रहेको जयशम्भो पाउरोटी उद्योगले एक दिन अगाडिको मिति राखेर पाउरोटी बिक्री गरेको पाइएको बताए । प्रशासन प्रमुख थापाले भन्नुभयो, ‘बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्रीसँगै पाउरोटीमा एक दिनअघिको मिति राखेर उत्पादन प्याकिङ गरेको भेटिएको थियो । ती सामग्रीलाई नियन्त्रणमा लिएर नष्ट गरेका छौ ।’

त्यसैगरी उद्योगमा बाल श्रमिक राख्न नपाइने भए पनि दुई पसलमा बालश्रमिक समेत भेटिएकाले सञ्चालकलाई सचेत गराइएको र फेरि भेटिए कारवाही गर्ने चेतावनी अनुगमनका क्रममा दिइएको प्रशासन प्रमुख थापाले बताए । म्याद गुज्रेको बिस्कुट, डोनट, पाउरोटीलगायतका सामग्री नियन्त्रणमा लिएको उनले बताए।

अनुगमन टोलीले दर्ता नभएका पसलहरु नगरपालिकामा दर्ता गर्न, समयमा कर तिर्न, मानव स्वास्थ्यमा असर पर्नेखालका सामानहरु बिक्री वितरण नगर्न व्यवसायीलाई सचेत बनाउनुका साथै म्याद नाघेको सामग्री बिक्री गर्ने डिके सप्लायर्स र जयशम्भो पाउरोटी उद्योगलाई नगद २०–२० हजार रुपियाँ जरिवाना गरिएको लमही नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार