मन्त्रालयका अनुसार भारतसँग खरिद गर्न लागिएको २५ हजार मेट्रिकटन चिनी मध्ये २० हजार मेट्रिकटन चिनी भन्सार छुटको हुनेछ । यो चिनी अबको एक हप्ताभित्रै ल्याइने ठाकुरले बताए । यस्तै, बाँकी रहेको ५ हजार मेट्रिकटन चिनी भने तिहारपछि भन्सार छुटविना नै ल्याइने मन्त्रालयले जनाएको छ । सहुलियतको २० हजार मेट्रिकटन चिनीको खरिद प्रक्रियाको लागि सरकारले शुक्रबार नै परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ ।
भारतले नेपाललाई सरकारी कम्पनीबाटै चिनी बिक्री गर्ने र सो चिनी नेपालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
साल्ट र खाद्यलाई १०-१० हजार चिनी
मन्त्रालयकाअनुसार सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी ल्याउन अनुमति दिएको छ । दुवै कम्पनीले तिहार अघिनै १० –१० हजार मेट्रिकटन चिनी खरिद गरेर ल्याएर बिक्री गर्ने मन्त्रालयले जनाएको छ । द्रुत प्रक्रियाबाट चिनी खरिदका लागि साल्ट ट्रेडिङको संयन्त्रले काम गरीरहेको र अहिले चिनीको गुणस्तर, मूल्यमा अन्तिम छलफलमा भइरहेको मन्त्रालयको भनाइ छ ।
‘सो चिनी भारतीय बजार मूल्यमा खरिद गर्ने र नेपालमा भन्सार छुट हुँदा सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध हुन्छ,’ ठाकुरले भने, ‘सबै उपभोक्ता र खुद्रा व्यापारीलाई उपलब्ध हुनेगरी चिनी वितरण गर्न सबै संयन्त्र लागेको छ । ’ मन्त्रालयलले चिनीको सहजताका लागि सरकारले सबै उपाय गरिरहेको भन्दै उपभोक्तालाई उच्च मूल्य र ठगीमा नपर्न आग्रह गरेको छ । शुक्रबार मात्रै नेपाली चिनी उद्योगहरुबाट ३ हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङले खरिद गरेको र त्यो चिनी बिक्री सुरु भएको मन्त्रालयले जनाएको छ ।
साल्टले उद्योगबाट खरिद गरेको उक्त चिनी पनि बजारमा पठाउन सुरु भइसकेको मन्त्रालयले जनाएको छ । बजारमा चिनीको कृत्रिम भण्डारण हुनसक्नेतर्फ सचेत भएको र सुरक्षा संयन्त्रको परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ ।





