युद्धपछि पनि गाजालाई नियन्त्रणमै राख्ने इजरायलको योजना

२०८० कार्तिक २२, बुधबार

तेलअभिभ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध समाप्तिपछि गाजामा इजरायलले अनिश्चितकालका लागि सुरक्षा जिम्मेवारी सम्हाल्ने बताएका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसीसँगको कुराकानीमा नेतान्याहुले गाजामा इजरायलको उपस्थिति कायमै राख्ने बताएका हुन् । युद्धपछि पनि गाजालाई नियन्त्रणमै राख्ने इजरायलको योजना

एक महिनाअघि प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलतर्फ आक्रमण गरेपछि इजरायलले पनि हमास सक्रिय रहेको गाजा र वेस्ट बैंक क्षेत्रमा आक्रमण गरिरहेको छ । यस क्रममा नेतान्याहुको पछिल्लो अभिव्यक्तिले गाजा क्षेत्रलाई इजरायलले आफ्नो नियन्त्रणमा राख्न खोजेका रूपमा अर्थ्याइएको छ । यद्यपि, इजरायलले गाजाको नागरिक प्रशासनको भने जिम्मेवारी लिनेछैन । यसअघि १८ वर्ष पहिले इजरायली सेनाले गाजाको सुरक्षा जिम्मेवारी छोडेर बाहिरिएको थियो ।

तर, अहिले नेतान्याहुको सरकारमा सहभागी घटकहरूले पनि गाजामा फेरि इजरायलले नियन्त्रण राख्नुपर्ने मत व्यक्त गर्दै आएका छन् । तर गाजामा इजरायलको फेरि उपस्थितिले झन् तनाव बढाउन नसक्ने अर्को पक्षको भनाइ छ । गाजामा यसअघि प्यालेस्टाइन प्राधिकरणले प्रशासनको जिम्मेवारी निर्वाह गरिरहेको थियो । अब पनि प्रशासनको जिम्मेवारी प्राधिकरणले पाउने वा संयुक्त राष्ट्रसंघको शान्ति बल वा अरब शान्ति बलको उपस्थिति हुने भन्नेमा स्पष्ट छैन ।

गत ७ अक्टोबरमा हमासले इजरायलतर्फ आक्रमण गरेको थियो । त्यस आक्रमणमा परी १ हजार ४ सय जनाको मृत्यु भएको थियो । यस्तै, २ सय ३९ जनालाई हमासले नियन्त्रणमा पनि लिएको थियो । त्यसयता गाजा क्षेत्रमा इजरायलको आक्रमणमा १० हजार ३ सय जनाको मृत्यु भइसकेको गाजामा हमासले चलाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये ४ हजार १ सय बालबालिका छन् । हजारौं व्यक्ति घाइते भएका छन् ।

इजरायलले गाजा क्षेत्रमा हवाईसँगै स्थलगत आक्रमण पनि गरिरहेको छ । इजरायलको सैन्य फोर्स (आईडीएफ) ले हमासका विभिन्न सेल्टरहरूलाई नियन्त्रणमा लिएको दाबी पनि गर्दै आएको छ । गत सोमबार राति इजरायलले गाजाका सहरहरू खान युनिस र राफाह लगायतमा ठूलो हवाई आक्रमण गरेको थियो, जसमा सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार