कैलाली : कैलालीमा क्लिनिक सञ्चालकका भाइले सुई लगाएका एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको मृत्यु भएको हो ।
बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । बालकलाई सुई लगाउने धनगढी उपमहानगरपालिका १३ श्रीलंकाका नविन धामी र क्लिनिक सञ्चालक दिनेश धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएको प्रहरीको भनाइ छ ।
ज्वरो आएपछि उपचारका लागि मंगलबार साँझ ६ः३० बजे क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले बालकलाई सुई लगाएका थिए । सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भईसकेको थियो ।
अहिले धामी दाजु भाइविरुद्ध इलाज सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।





