गाडीको ठक्करबाट छठका व्रतालुको मृत्यु, ट्राफिक हवलदार घाइते

२०८० मंसिर ४, सोमबार

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गरेका स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको वीङ्गरले सोमबार बिहान ७ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

गिरीका अनुसार सोही गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका एक ट्राफिक हवलदार समेत घाइते भएका छन् । ट्राफिक प्रहरी पोस्ट हरिवनमा कार्यरत ट्राफिक प्रहरी हवलदार सुबोध कुमार यादव घाइते भएका हुन् ।

बायाँ खुट्टामा चोट लागेर घाइते हुनुभएका ट्राफिक प्रहरी हवलदार यादवलाई हरिवनमा सामान्य उपचारपश्चात् लालगढ अस्पताल, धनुषा रेफर गरिएको छ । उक्त वीङ्गरले सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ ।

दुर्घटनामा संलग्न वीङ्गर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार