वीरगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्साको पोखरियालाई नमुना स्मार्ट सिटीका रूपमा विकास गरिनुपर्ने बताएका छन् ।
पर्साको पोखरियामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जिल्लाका सबै सरकारी अड्डा, सय बेडको अस्पताल, चार लेनको सडक अन्य विकास तथा पूर्वाधारका काम सम्पन्न गरेर पोखरियालाई नमुना स्मार्ट सिटी बनाइनुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले भने, ‘‘आज ४ बजे प्रधानमन्त्री प्रचण्डज्यूसँग भेटभाटको कार्यक्रम छ, यहाँबाट जाने बित्तिकै सिधै बालुवाटार जान्छु। त्यहाँ गएर पोखरिया नगरपालिकामा चाहिने एक सय बेडको अस्पताल, चार लेनको सडकसहितका विकासका बारेमा जानकारी दिएर चाँडै पूरा गर्न लगाउँछु।’’
पूर्व प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पोखरियामा देखिएका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराई काम पूरा गराउन लगाउने आश्वासनसमेत दिए। उनले आफू २७ वर्षपछि पोखरियामा आएको बताउँदै यो अवधिमा पर्साको पोखरिया नगरपालिकाले विकासको मामिलामा केही हदसम्म फड्को मारेको तर जनचाहना अनुसार पूर्णरुपमा विकास नभएकाले अझ विकास हुनु जरुरी रहेको धारणा राखे।
उनले उपस्थित सम्पूर्ण जनतालाई एमालेको मिसन २०८४ लाई साथ दिन आग्रह गर्दै भने, ‘‘एमालेको एकल बहुमत आयो भने देशको विकास हुन्छ, सामाजिक एकता कायम रहन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ। समृद्ध नेपाल, सुखी नेपालीको एमालेका अधुरा सपना पूरा हुन्छन्।’’ अध्यक्ष ओलीले भारतको अहिलेको अयोध्या १५० वर्षअघिको फैजावाद रहेको वास्तविक राम जन्मभूमि त माडीको अयोध्यापुरी नै भएको दाबी गरे।
एमाले अध्यक्ष ओलीले भने, ‘‘मैले उहिले भगवान् रामको जन्मभूमिबारे दिएको अन्तर्वार्ता अहिले आएर भारतकै सर्वोच्च अदालतले पनि स्वीकार गरेको पाएँ। भारतको सर्वोच्च अदालतले अयोध्या भएको ठाउँमा भगवान् राम जन्मभूमि भएको कुनै प्रमाण नपाइएको र त्यसको खोजी हुनुपर्ने भनेको छ। हो यो कुरा वास्तविक पनि हो। विभिन्न शास्त्र, रामायण, गीता जस्ता धार्मिक ग्रन्थले रामको वास्तविक जन्मभूमि अयोध्यापुरी नै हो लेखेका छन्। जुन ठोरीमा नै पर्छ।’’
कार्यक्रममा जसपाका पूर्व सांसद हरिनारायण रौनियारसहित नेता कार्यकर्ता एमाले अध्यक्ष ओलीले फूलमाला लगाएर पार्टी प्रवेश गराएका छन् ।





