
काठमाडौं : वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ बस्ने वर्ष २५ को दिपेश बास्कोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।
बास्कोटाले बल बहादुर थापा मगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ मात्र लाग्छ, सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा १७ लाख १७ हजार तीन सय रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ईलाका प्रहरी कार्यालय सिमरा बारासँग समन्वय गरी खटिएको प्रहरी टोलीले बास्कोटाको खोजतलास गर्ने क्रममा शुक्रबार बाराबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।