महोत्तरी : जिल्ला अदालत महोत्तरीले नेकपा (एमाले)का निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको मुद्दामा बिहीबार फैसला भएको हो । अदालतमा विक पत्नी शोभासमेत उपस्थित थिए ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको भन्दै सांसद कोइरीसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामो समयपछि भएको सुनुवाइपछि जिल्ला अदालतले उनलार्ई हत्या अभियोगबाट सफाइ दिएको छ । जम्मा २८ जनामध्ये आठजना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको मुद्दामा थप छ महिना कैद सजाय हुने अदालतको फैसलामा उल्लेख छ । जन्मकैद सजाय हुनेहरुमा प्रदीप शाह माझी, सञ्जय शाह, मोहन ठाकुर, शंकर शाही, रामशंकर मिश्र, अबिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् ।
जन्मकैद सजाय पाएका मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् भने अविराम शर्मा मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा मधेश प्रदेश सभा सदस्य हुन् । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको एम्बुलेन्सबाट निकालेर धानबारीमा लगेर हत्या गरिएको थियो ।
प्रहरीको फरार सूचीमा रहेका कोइरी प्रतिनिधि सभासदस्य निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका थिए ।





