काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पछिल्लो समय निरन्तरजसो छलफलमा रहेका धरानका मेयर हर्क साम्पाङले नयाँ शक्ति निर्माण हुने संकेत गरेका छन्। स्वतन्त्र रुपमा मेयर जितेका उनीहरुबीच पछिल्लोपटक निरन्तरजसो छलफल भइरहेको छ।
पछिल्लोपटक २ मेयरबीच बिहीबार बिहान १ घण्टा छलफल भएको थियो। बिहिबार बिहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले छलफल गरेका थिए। बिहिबारको भेटपछि साम्पाङले फेसबूकमा बालेनसँगको तस्बिर राख्दै आफूहरु विशाल बन्ने बताएका थिए। लेखेका थिए, ‘जीत हुन्छ क्रान्तिको शंकै नमान! हामी झन विशाल बन्छौँ धन्दै नमान!’
आगामी निर्वाचनका लागि नयाँ पार्टी खोलेर जान सक्ने अनुमान गरिरहेका बेला साम्पाङले सामाजिक सञ्जालमा नयाँ शक्ति निर्माण गर्ने उल्लेख गरेका हुन्। साम्पाङले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ!’ २०७९ सालको स्थानीय तह निर्वाचनमा शाह काठमाडौं र साम्पाङ धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धमा उत्रिएका थिए। स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेका दुवैको चुनाव चिह्न ‘लौरो’ थियो।





