नेवाः ताम्सालिङको माग गर्दै प्रदर्शन

२०८० मंसिर ३०, शनिबार

काठमाडौं : बागमति प्रदेशको नाम नेवाः ताम्सालिङ हुनुपर्ने माग गर्दै तामाङ र नेवार समुदायले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । ताम्सालिङ संयुक्त संघर्ष समिति, नेपाल तामाङ घेदुङ र नेवा दय दवु थिथि खलः पुचःले काठमाडौंको भुगोलपार्क न्युरोडदेखि असनचोकसम्म प्रदर्शन गरेका हुन् ।

असनचोकमा आयोजित सभालाई सम्बोधन गर्दै तामाङ र नेवार अगुवाहरुले बागमति प्रदेशको नाम खारेज गरेर नेवाःताम्सालिङ राखिनुपर्ने आफुहरुको प्रमुख माग रहेको धारण राखे । वक्ताहरुले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध नबोल्न पनि खबरदारी गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बागमति प्रदेशको नाम नेवा ः ताम्सालिङ राखिनु आफुहरुको न्युनतम शर्त रहेको बताए । पछिल्ला दिनमा देशमा परिवर्तन विरोधीहरु सल्बलाएको भन्दै अध्यक्ष तामाङले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध नबोल्न पनि खबरदारी गरे।

नेवा दय दुवुका अध्यक्ष पवित्रमान बज्रचार्यले पहिचानको आन्दोलन कुनै जात, धर्म र पार्टीविरुद्ध नभएको बताए । उनले नेवाः ताम्सालिङ यो भुमिमा बस्ने सबैको साझा भएको भन्दै पहिचानको मुद्दालाई गलत अर्थ नलगाउन आग्रह गरे । नागरिक अगुवा एवं लेखक खगेन्द्र संग्रौलाले पहिचानको आन्दोलनलाई राज्यले बेलैमा सम्बोधन गर्नुपर्ने बताए । समानताका लागि भएका आन्दोलन लामो समय भए पनि कुनै दिन उत्कर्षमा पुग्ने बताए ।

नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले आदिवासी जनजातिको पहिचानको आन्दोलनलाई राज्यले कमजोर न आँक्न चेतावनी दिए । सभामा किराँत यक्थुङ चुम्लुङका अध्यक्ष प्रेम याक्तेन, तमु ह्युल छोंजधिका अध्यक्ष कर्णबहादुर गुरुङ, मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन, शेर्पा संघका महासचिव लाक्पा शेर्पा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, आदिवासि महिला महासंघका अध्यक्ष छिमि शेर्पालगायतले आन्दोलनमा एक्यवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार